२ दिनभित्र झण्डै ३४ हजार यहुदीको नरसंहार हत्या

१२ असोज, काठमाडौं । दोस्रो विश्वयुद्धभर युरोपका यहुदीविरुद्ध कहालीलाग्दा जातीय नरसंहारका घटना भए । यसैमध्ये एउटा डरलाग्दो जातीय नरसंहार युक्रेनको राजधानीस्थित बाबिन यारमा भएको थियो । ८० वर्षअघि भएको उक्त नरसंहारमा २ दिनभित्र झण्डै ३४ हजार यहुदीको हत्या गरिएको थियो ।

सोभियत युनियनविरुद्ध नाजी जर्मनीको सैन्य अभियानका क्रममा १९४१ सेप्टेम्बर २९ र ३० तारेख ३३ हजार ७७१ जना यहुदी बिना कारण मारिए । पूर्वी युरोपमा नाजीहरुले गरेको नरसंहारमा २० लाखभन्दा बढी यहुदीले ज्यान गुमाएको अनुमान गरिन्छ । नाजी फौजले गोली हानेर मारेका र खाल्डोमा पुरेका अधिकांश यहुदी युक्रेनका थिए । युक्रेनले अझै पनि विगतका ती डरलाग्दा अत्याचार कसरी स्मरण गर्ने भन्ने प्रश्नको उत्तर दिन खोजिरहेको छ ।

सन् १९४१ को सेप्टेम्बरमा त्यतिबेला सोभियत युनियनको भू(भाग रहेको यक्रेनी राजधानी किएभलाई नाजीहरुले कब्जा
गरे । केही दिनभित्रै किएभका यहुदीलाई शहरबाहिर रहेको एउटा चौकीमा बोलाइयो ।

लाइन लागेर बसेका हजारौं यहुदीले आफूहरुलाई जर्मनी वा प्यालेस्टाइनमा पठाइने आशा गरेका थिए । तर नाजीहरुले उनीहरुलाई बाबिन यारमा लगेर सुनियोजित तरिकाले गोली हानेर हत्या गरिदिए । दुई दिनको अवधिमा ३४ हजार यहुदी मारिएका थिए । नाजीहरु पूर्वी युरोपका जुन स्थानमा गए, त्यहाँ बाबिन यारको बर्बरता दोहोर्‍याए ।

बाबिन यारको नरसंहार हुँदा इहोर याहेयब ५ वर्षका थिए । सो नरसंहारमा उनले ५ जना नजिकका आफन्त गुमाए जसमध्ये ३ जना साना बालबालिका थिए । कुराकानीका क्रममा उक्त घटना सम्झिँदा उनका आँखा रसाए ।

नरसंहार हुँदा लारिसा बहुतदिनोभा १ वर्षकी मात्रै थिइन् । उनलाई आमाले नाजीको प्रहरी चौकीमा लगेकी थिइन् । ‘आमाले अवस्था ठीक नभएको महसुस गर्नुभयो’, उनले विगतबारे कुरा गर्दै भनिन्, ‘प्रहरीले अन्तै हेरेको बेला उहाँले मलाई एक अपरिचित महिलाको हातमा सुम्पनुभयो र त्यसरी म घर आएँ । तर आमाबिनै ।’

पछि नाजीहरु पराजित भए तर सोभियत नेताहरुले कैयौं दशकसम्म उक्त यहुदी नरसंहारको सम्झना गर्ने वा स्मृति दिवस मनाउने अनुमित दिएनन् । इतिहासकार एन्द्री रुकास भन्छन्, ‘आधिकारिक विचारधाराले दोस्रो विश्वयुद्धमा सबै रुसी जनता पीडित भएको भन्दै एउटै एकीकृत सोभियत जनता भन्थ्यो । एउटा मात्रै समुदायको दुस्खलाई जोड दिने कुरा विवेकपूर्ण र राम्रो मानिन्थेन ।’

बाबिन यारमा पहिलाको भन्दा निकै परिवर्तन भएको छ । उक्त क्षेत्र हाल बस्ती र जंगलले ढाकिएको छ । केही समयअघिसम्म ८० वर्ष पहिलाको नरसंहार कुन स्थानमा भएको थियो भनेर कसैले पनि भन्न सक्दैनथे । गत वर्ष एउटा टोलीले पुराना नक्सा र तस्बिर प्रयोग गरेर थ्रीडी मोडेल तयार पारेपछि नरसंहार भएको स्थान पत्ता लागेको छ ।

सेन्टर फर स्पासिएल टेक्नोलोजीका म्याक्सिम रोखम्यानिकोले यहुदीलाई गोली हानिएको स्थलमा एउटा अपार्टमेन्ट बनिसकेको बताए । यहुदीविरुद्ध जातीय नरसंहारको इतिहासमा महत्वपूर्ण मानिएको स्थललाई बेवास्ता गर्नु अनुचित भएको उनको भनाइ थियो ।

तर सामूहिक चिहानमाथि अपार्टमेन्ट बनेको भन्नेबारे आफूहरुले कुनै आधिकारिक प्रमाण फेला नपारेको र अनुमति लिएर अपार्टमेन्ट बनाएको निर्माण कम्पनीको भनाइ छ ।

बाबिन यारमा झैं युक्रेनका अन्य स्थानमा समेत यहुदीको जातीय नरसंहार गरिएको थियो । पूर्वी युरोपमा मात्रै २० देखि २५ लाख यहुदीको सामुहिक हत्या भएको अनुमान गरिन्छ ।

पुनस् त्यस्ता घटना नदोहोरिऊन् भन्नका लागि पनि बाबिन यार नरसंहारको सम्झना गर्नुपर्ने इहोर याहेयबले बताए । उनले भने( ‘पुनस् त्यस्तो घटना नदोहोरियोस् भन्नका लागि पनि सम्झना गर्नुपर्छ । बालबालिका, महिला र पुरुष र वृद्धवृद्धाहरुलाई यहुदी भएकै कारण मारिएका ती डरलाग्दा क्षणलाई स्मरण गरिरहनुपर्छ ।’

बीबीसीका लागि जोनाह फिसरले तयार पारेको रिपोर्टमा आधारित

अनलाइनखबरबाट