अमेरिकामा साढे सात लाख मानिस कोरोना संक्रमित हुँदा ३७ हजार मानिसको मृत्यु

६ वैशाख, काठमाडौं । कोरोना भाइरसले क्षतबिक्षत बनाएको अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख भन्दा माथि नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म सात लाख दुई सय ८२ जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म करिब ३७ हजार मानिसको मृत्यु भइसकेको छ ।
अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म दुई लाख ३० हजार भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यहाँ भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार एक सय ३१ पुगेको छ । त्यस्तै न्यु जर्सीमा पनि ७८ हजारभन्दा धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् । यो राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार आठ सय ४० पुगेको छ ।
त्यस्तै कोरोना भाइरसबाट अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।
कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ४२ हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म एक लाख ५४ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अहिलेसम्म पाँच लाख ६८ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।