बन्यजन्तुहरुको मासुमा कडा प्रतिबन्ध लगाउन डब्लूएचओको अपिल

६ वैशाख, काठमाडौं । कोरोना भाइरसले विश्वजगत नै महामारीको चपेटामा परेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन सबै देशहरूलाई अपिल गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
चीनको वुहान सहरस्थित जंगली जनावर र पन्छीहरूको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिन सुरु गरेको थियो । संक्रमण बढ्दै गएर मानिसहरुको ज्यान जान थालेपछि डब्लुएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।
डब्लुएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।
टेड्रोसले पशुपन्छी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको बताएका छन् ।
साथै डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि बताएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् । अहिलेको अवस्थामा यो संख्या आकलन गरिएको, तर यो संख्या केही परिवर्तन पनि हुनसक्ने उनको भनाइ छ ।