९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन सुरु भएको छ । सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ ।
कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो । यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।
यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरुमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।