मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी नियुक्त

५ असोज, सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी नियुक्त गरिएको छ ।

मालपोत कार्यालय सुर्खेतले विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई कार्यालयको काम गर्न राखिएको छ । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् ।

शर्मा यसअघि करार सेवामा कम्प्युटर अपरेटरको रुपमा मालपोत कार्यालयमा कार्यरत थिए । शर्मासहित सुनीता चन्द, सुमित्रा चपाइँ र लेखा ज्ञवाली गत फागुनमा करार सेवामा कम्प्युटर अपरेटरमा नियुक्त भएका थिए । चारै जनाको करार अवधि असार मसान्तमा सकिएको थियो ।

करार अवधि सकिए पनि शर्मा कार्यालय नियमित आएर काम गरिरहेका छन् । कार्यालयका निमित्त प्रमुख हमालले कम्प्युटर अपरेटरमा शर्मालाई नियुक्ति नदिइएको बताए । ‘उसलाई नियुक्ति पत्र दिएको छैन । भदौ १ गतेदेखि काम गर्दै आइरहेको छ । करार दरबन्दीमा काम गर्दै आइरहेको साँचो हो,’ उनले भने ।

विगतमा विज्ञापन गरेर कर्मचारी राख्दा राजनीतिक दबाब आएको भन्दै उनले यस पटक विज्ञापन नगरिएको बताए । ‘राजनीतिक दबाबकै कारण गत फागुनमा पनि एकजनाको ठाउँमा चारजनालाई राखिएको हो, अब असारयता चारैजनालाई राख्न नसक्ने स्थिति आएपछि उहाँहरुलाई बिदा गरेका हौं,’ निमित्त प्रमुख हमालले भने ।

उनले कार्यालय प्रमुखमा कमलबहादुर शाहीलाई पनि नियुक्ति नदिइएको बताए । करारमा राखिए पनि अहिलेसम्म हाजिर नगराएको र तलब नदिइएको उनले जानकारी दिए ।