केपी ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाने मन्त्रीपरिषद्को निर्णय

५ असोज, काठमाडौं । साँझपख सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् । हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा। युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । यी सबै राजदूत अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन् ।

प्राप्त स्रोत अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक राजदूतलाई फिर्ता बोलाइएको हो ।

मन्त्रिपरिषद्ले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

त्यस्तै कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किमी र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमी सडकखण्डको ट्रयाक निर्माणको जिम्मा नेपाली सेनाबाट गराउन स्वीकृति दिएको छ ।