चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किए

एजेन्सी

चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किएका छन्।

उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो।

स्पेस एक्सको इनस्पिरेसन ४ मिसनअन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको थियो। तीन दिनअघि उनीहरू पृथ्वीबाट उडेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटरमाथिसम्म पुगेका थिए।

यसअघि अन्तरिक्ष यात्रीहरूमात्रै यसरी अन्तरिक्षमा जाने गरेको भए पनि पहिलोपटक सर्वसाधारण अन्तरिक्षमा गएका हुन्।

उक्त क्याप्सुलमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान, फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए।

उनीहरूले अन्तरिक्ष यात्राका लागि कति रकम तिरे भन्ने खुलाइएको छैन। उनीहरूको यात्रा व्यवसायी आइज्याकम्यानले प्रायोजन गरेको बताइएको छ।

स्पेस एक्स अमेरिकी अर्बपति एवं टेस्ला कम्पनीका मालिक एलन मस्कको कम्पनी हो।