देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण

जनमोर्चा अध्यक्ष, चित्रबहादुर केसी

१ असोज, काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज एक प्रेस वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चाले पुनर्स्थापित संसदलाई फेरि भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएका छन् । निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गर्न थालेको जनमोर्चाको आरोप छ ।

मुलुकलाई प्रतिगमनमा धकेल्नका लागि पाँचदलीय गठबन्धनलाई टुक्र्याउन विभिन्न षड्यन्त्र भइरहेको समेत जनमोर्चाको ठहर गरेको छ ।

‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ ।’

वर्तमान सरकारबाट देश र जनताका सबै समस्या समाधान हुने विश्वास नभए पनि प्रतिगमनका विरुद्ध समर्थन गरेको जनमोर्चाले स्पष्ट पारेको छ ।

यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुनेमा जनमोर्चा दृढ रहेको अध्यक्ष केसीले दोहो¥याएका छन् । एमसीसी पारित गराउन अमेरिकाले लगातार दिइरहेको र शेरबहादुर देउवा नेतृत्वको सरकारले यसलाई पारित गराउन विभिन्न षड्यन्त्र गरिरहेको पनि जनमोर्चाले दाबी गरेको छ ।

एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष गरिरहने जनमोर्चाले बताएको छ ।