२७ भदौ, काठमाडौं । नेकपा एमालेका सांसदहरुले लगातार संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई भोलि सोमबार छलफलमा बोलाएका छन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका हुन् ।
सभामुख सापकोटाले आज आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको बातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए ।
‘हामीमा गरिएको अन्यायबारे प्रष्ट नपारेसम्म संसद् चल्न दिन्नौं’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । एमाले विभाजनमा भूमिका सभामुख सापकोटाले खेलेको एमाले नेताहरुले आरोप लगाए ।
एमालेले २३ भदौ यता प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमाले अवरोधकै बीच चालु आर्थिक वर्ष २०७८÷७९ को संशोधित बजेट समेत पेश भएको छ । तर एमालेको अवरोध कायमै रहेपछि अर्को बैठक २९ भदौसम्मका लागि स्थगित भएको छ ।