२७ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् ।
आजको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए ।
‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’
सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताए ।
सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।
तर एमाले सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ यथास्थितिमा संसद चल्न सक्दैन, लगायतका नारा लगाइरहेका छन् ।