Breaking News

एमालेको विधान महाधिवेशन एक साता पर सर्दै असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय

२७ भदौ, काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकले विधान महाधिवेशन दुई सातापछि सरेको छ । बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशन असोजकै १५ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

विधान महाधिवेशनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न असोज ३ र ४ गते स्थायी कमिटीको बैठक बोलाइएको छ । त्यसपछि असोज ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।

शनिबारको स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि पनि टुंगो लगाएको छ, जसअनुसार करिव ३ हजार सहभागी हुने प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले जानकारी दिए ।

एमालेको विधानले विधान महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्य सहभागी हुने व्यवस्था गरेको छ । तर नवौं महाधिवेशन पश्चात् राष्ट्रिय परिषद् सदस्य चयन नभएकाले पार्टी विधानमा बाधा अड्काउ फुकाई विधान महाधिवेशनमा सहभागीको मापदण्ड तय गरिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।