Breaking News

संसदमा प्रेम सुवालको ठूला दलका नेतालाई चेतानी : एमसीसी पास गरिए अफगानिस्तानी राष्ट्रपति अशरफ घानी जस्तै देश छोड्न पर्ला ।

२५ भदौ, काठमाडौं । आज चलिरहेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने टिप्पणी गरेका छन् । विश्वलाई नै दुःख दिने नियतका साथ आएको एमसीसी सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह गरे ।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच पनि प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन् । यो विषयमा संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बुढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुका कुरामा फस्नु हुन्न ।’

उनले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।