एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने

एमाले अध्यक्ष, केपी शर्मा ओली

२४ भदौ, काठमाडौं । (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा गएर आग्रह गरेकी छन् ।

आजै नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् । ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी सम्झौतामा आएका विवाद र अहिलेको अवस्थाबारे बुझ्न खोजेकी थिथइन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सभामुख र अन्य केही व्यक्तिको असहयोगका कारण सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले बताएका थिए ।

‘विगतमा हामी सरकारमा भएका बेला प्रयास गरेका हौं, केही साथीहरुको भूमिका कारण पारित गर्न सकिएन, अहिले हामी सरकारमा छैनौं’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ‘पहिले सरकारको धारणा आओस् ।’

ओलीले एमसीसी सम्झौताका विषयमा सरकारले आफूहरुसँग छलफल पनि नगरेको बताएका भट्टराईले जानकारी दिए । अहिले सरकारसँग आवश्यक बहुमत भएका कारण एमसीसी सम्झौता पारित गर्न एमालेको सहयोग नचाहिने पनि हुन सक्ने भट्टराईले अनलाइनखबरलाई बताए ।