आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
सभामुख अग्निप्रसाद सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पारेका छन् । एमाले सांसदहरुलाई भने, ‘मैले संविधान, नियम कानुनको बर्खिलाप केही गरेको छैन, त्यसकारण सदन संचालन गर्न दिनुस् ।’ यद्यपि, एमालेका सांसदहरुले ‘संसदको मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर,’ लगायतका नारा लगाएका छन् ।
यसअघि आजै नै बसेको पहिलो बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध तुल्याएका थिए । पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका सभामुख सापकोटाले यस बीचमा एमालेका प्रमुख सचेतक तथा सचेतकसँग छलफलसमेत गरेका थिए ।