Breaking News

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटीन : राजीनामा नदिने, विश्वासको मत पनि नलिने

बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी
छिन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् । भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । पार्टी एकताका लागि भन्दै पौडेलले प्रदेशको बागडोर शाक्यलाई सुम्पिएपनि विभाजनको असर भने प्रष्ट देखियो ।

केन्द्रमा एमालेको आधिकारिक विभाजनपछि बागमतीका पनि १३ सांसद नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि प्रदेशमा विभाजनको प्रष्ट चित्र मात्र देखिएन, सरकारनै अल्पमतमा पर्ने निश्चित भएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तत्काल राजीनामा नदिने, विश्वासको मत पनि नलिने

आज हेटौंडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाक्यले हाल नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन भएको र आगामी २२ गतेसम्म सनाखतको समय रहेकाले तत्काल विश्वासको मत नलिने बताएकी हुन् ।

उनले नेकपा एमाले विभाजनपछि १३ जना सांसद्हरु नेकपा एकीकृत समाजवादीमा गएको तथा सो पार्टी नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससँग गठबन्धनमा सहभागि हुने भएकाले विपक्षी दलले अपनाउने कदमका आधारमा आफ्नो रणनीति तथा योजनाहरु संचालन गर्दै जाने बताइन् ।