Breaking News

कीर्तिपुर नगरपालिकामा मास्कविना प्रवेश निषेध

२० भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा मास्कविना प्रवेश निषेध’ अभियान शुरु भएको छ । कोरोना भाइरसबाट बच्नका लागि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरेको हो ।

आइतबार उक्त अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन अभियान शुरु गरिएको बताए । कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने र त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को समेत स्थापना गरिएको जनाएको छ ।

सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न ‘मास्क बैंक’को स्थापना गरिएको मेयर महर्जनले जानकारी दिए । ‘कीर्तिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौं । यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिक स्थलहरुमा, कार्यस्थलहरुमा ‘मास्कविना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौं,’ उनले भने ।

कार्यक्रममा युनिसेफ, लायन्स क्लब अफ काठमाडौं लगायतका सामाजिक संघसंस्थाले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । उक्त मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।