नेपाली काँग्रेसमा १४ औँ महाधिवेशन आजबाट सुरु भएको छ । देशभरिका ५६ जिल्लामा वडा अधिवेशनको सुरुवात हुँदैछ । ५६ जिल्लाका ५० प्रतिशत वडाहरूमा आजै अधिवेशन सकिने नेताहरूले बताएका छन् । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता विवाद नटुङ्गिएका कारण ती जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन ।
नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यताको नामावली पुगेका ५६ जिल्लाका वडाहरूमा आज वडा अधिवेशन हुनेछ । निर्वाचन अधिकृतहरू खटाइएका ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन हुने यादवले रातोपाटीलाई बताए । वडा तहमा निर्वाचन सम्पन्न गर्नका लागि हरेक वडामा एक जना मतदान अधिकृत खटाएको उनले जानकारी दिए ।
हरेक जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृतले सबै वडामा एक–एक जनाका दरले मतदान अधिकृत खटाएको यादवले बताए । उनले भने, ‘चार चरणमा क्रियाशील सदस्यताको सूची आएको छ । त्यहीअनुसार हामीले निर्वाचन अधिकृत खटाएका छौँ । पहिलो चरणमा ३८ जना जानुभयो । दोस्रो चरणमा १० जना, तेस्रो चरणमा ५ जना र चौथो चरणमा ३ जना जानुभएको छ । ढिलो गरी अधिकृत खटाएका ठाउँका बाहेक सबै वडामा आज अधिवेशन हुने सम्भावना छ ।
शुक्रबार ५० प्रतिशत बढी जिल्लामा वडा अधिवेशन हुने यादवको दाबी छ । केही वडामा बिहीबार नै सर्वम्मतरुपमा अधिवेशन सम्पन्न भइसकेको उनले बताए । यादवका अनुसार कुनै कारण भदौ १८ गते निर्वाचनको प्रक्रिया सुरु हुन नसकेका जिल्लामा बढीमा एक साताभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । हुने भएको हो ।