Breaking News

दुई महिनाको लामो उपचारपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि काठमाण्डौ फिर्ता हुंदै

पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठनेता झलनाथ खनाल भोलि सोमबार अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने तयारीमा छन् । मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका
थिए ।

भारतमा उपचारका लागि प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका उनले भदौँ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए ।

औपचारिक रुपमा पार्टी विभाजनको अघिल्लो चन्द्रागिरीमा बसेको माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।