अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउँछ र मध्यपन्थको आयु लामो हुँदैन

८ भदौ, काठमाडौं । भारतमा उपचाररत नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् ।

नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको चर्को आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताए । ‘मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रुप हो । यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउँछ र मध्यपन्थको आयु लामो
हुँदैन ।

स्थायी कमिटीका नेताहरु एमालेमा फर्किएको तर्फ संकेत गर्दै खनालले केन्द्रमा देखिएको मध्यपन्थ करिव करिव अन्त्य भएको बताए । उनले अघि भने, ‘अब प्रदेशमा होस् वा जिल्लामा होस्, मध्यपन्थका बीऊहरु देखा पर्नेछन् ।’

त्यसलाई चिर्न दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उनले बताए । खनालले अघि भने, ‘कहिलेकाहीँ मिराकल हुन्छ । वर्षदिन नपुग्दै एउटा विशाल पार्टीले आकार लिनसक्छ, तर यसका लागि सशक्त वैचारिक राजनीतिक प्रवाह सिर्जना गर्न सक्नुपर्छ । अस्पतालको शय्याबाटै सम्बोधन गरेका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने समेत जानकारी दिए ।