३ भदौ, काठमाडौं । रसुवामा घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
नौकुण्ड गाउँपालिका(५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ ।
‘श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ, अर्को एक जनाको खोजी भइरहेको छ । पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए ।
श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएइको छ ।
घटना बिहान करिब साढे ३ बजेतिरको हो । ठूलो आवाज आएपछि छिमेकी हेर्न जाँदा पहिरोले घर पुरिएको देखिएको, त्यहीँ नजिकै श्यामबहादुर फेला परेका थिए,’ स्थानीयको भनाइ उद्धृत गर्दै डिएसपी पाण्डेले भने । श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका थिए ।