Breaking News

भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले जयसिंह धामीको महाकाली नदीमा खसी बेपत्ता भएको

जनअधिकार अभियानले आज बुधबार राजधानीमा पत्रकार सम्मेलनको गर्दै दार्चुलाका जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले महाकाली नदीमा खसी बेपत्ता भएको ठहर गरेको छ । अभियानमा घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा यस्तो निष्कर्ष निकालेको हो ।

दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ । एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै घटनापछि स्थानीय जनतामा डर, त्रास उत्पन्न भएको भन्दै त्यस्ता असरलाई व्यवस्थापन गर्नका लागि तत्काल पहल गर्न तथा स्थानीय जनताको सुरक्षा तथा आवतजावतका लागि आवश्यक पुल तथा मोटर बाटोलगायतको पूर्वाधारहरु निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ ।

यस्तै नेपालको सरकारको तर्फबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्काल तयार पार्न अभियानले आग्रह गरेको
छ । अभियानले साउन १५ गते भएको सो घटनाका सन्दर्भमा साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेर सरोकारवालासँग प्रत्यक्ष भेटघाट, छलफल तथा अध्ययन गरेको थियो ।

जनअधिकार अभियान