Breaking News

उपेन्द्रको भण्डाफोर गर्न महन्थ मधेशमा पस्ने

जनता समाजवादी पार्टी नेपाल भित्रको झगडालाई साम्य पार्दै निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले जसपा पार्टीका अध्यक्ष उपेन्द्र यादवको गल्ती, कमजोरीहरु जनता समक्ष राख्न भन्दै जनता समाजवादी पार्टी नेपालकै अध्यक्षका हैसियतमा मधेस पस्ने तयारी गरेका छन् ।

मधेसका विभिन्न जिल्लामा कार्यक्रम निर्धारण गरिसकेका ठाकुरले जसपा नेपालकै अध्यक्षको हैसियतमा अपिलसमेत जारी गरेका छन् ।
उनले पार्टी एकीकरणपछि बराबरीको आधारमा समायोजन गर्न निरन्तर प्रयास गर्दा पनि उपेन्द्र यादवका तर्फबाट विभिन्न बहानामा समायोजन रोक्ने प्रयास गरेको दाबीसमेत गरेका छन् ।

आफूहरुले परम्परवादी रुपमा रहेका काँग्रेस र कम्युनिस्ट पार्टीहरुको तुलनामा विचारमा वैकल्पिक र देशको लोकतान्त्रिक मूल्य मान्यताको र पहिचानसहितको संघीयतावादी समाजवादी विचारधाराको पहिलो नम्बरको पार्टी बनाउन थालेको तर उपेन्द्र यादवले नै विभिन्न बहाना बनाउँदै त्यसलाई हुन नदिएको ठाकुरको आरोप छ । उनले जारी गरेको अपिलमा केपी शर्मा ओलीसँग आफूहरुको निकटता बढ्नुको कारणसमेत प्रस्ट्याएका छन् ।