कम्युनिष्ट पार्टीमा नीति प्रधान हुन्छ संस्थागत परिपाटीलाई आत्मसात गर्नुपर्छ

वरिष्ठ नेता, माधवकुमार नेपाल

१६ साउन, काठमाण्डौ । माधव नेपाल पक्षीय एमाले भार्तु संगठन अखिल फोर्सको कार्यक्रममा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई घोषणामै मात्र आनन्दिन नहुन सुझाव दिएका छन्।

प्रधानमन्त्री देउवाले कोरोनाको प्रकोपलाई नियन्त्रण गर्न खोप ल्याउने आफ्नो प्राथमिकता घोषणा गरेको स्मरण गर्दै नेपालले बचन दिने तर काम नगर्ने परिपाटीलाई त्याग्न अनुरोध गरे।

‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, जनताको पीडा हाम्रो पनि हो, यो खतरनाक प्रकोपविरूद्ध खोप दिन्छु भनेर घोषणा गर्नुभएको छ, घोषणा मात्रै गरेर आनन्दित नहुनुस्,’ अखिल फोर्सको भेलालाई कार्की ब्यांकेटमा सम्बोधन गर्दै नेपालले भने।

नेपालले नेताहरूमा घोषणा गर्ने, बचन दिने तर काम पूरा नगर्ने परिपाटी रहेको भन्दै देउवालाई त्यसो नगर्न अनुरोध गरे।

‘सबैको पहुँचमा खोप पुगोस्, पहिलो कुरा भनेको मानिसको ज्यान हो,’ नेपालले भने।

नेपालले यो सरकारले राम्रो काम गर्नुपर्ने बताए। उनले भने, ‘फेरि प्रधानमन्त्री बन्छु कि भनेर कसैले पनि जालझेल नगरोस्।’

नेता नेपालले महाकाली नदीमा भएको अमानवियतामाथि छानविन गर्न सरकारको ध्यानाकर्षण पनि गराए। ‘बदमासीले होस्, लापरबाहीले होस् वा जुनसुकै कारणले, एक जना नेपाली युवा बाढीमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ,’ नेपालले भने, ‘भारत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। नेपाल सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु।’

नेपालले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने, होस होसियारी हुनुपर्ने र व्यक्तिवाद त्याग्नुपर्ने बताए। कम्युनिष्ट पार्टीमा नीति प्रधान हुने भन्दै नेपालले संस्थागत परिपाटीलाई आत्मसात गर्नुपर्ने बताए।

उनले अखिल फोर्सलाई सभ्य तरिकाले अगाडि बढ्न निर्देशन दिए। ‘अरूको अराजकता र छाडा प्रवृत्तिलाई ग्रहण गर्ने काम नगर्नुस्। विकृत, अपारदर्शी र गतिछाडापनमा हामी विश्वास गर्दैनौं,’ उनले भने।

समाज परिवर्तनमा जुटेका युवाले जनताको सेवा गर्नुपर्ने भन्दै उनले कम्युनिष्ट आन्दोलनमा लागेको व्यक्तिमा इमानदारिता, निष्ठा र समर्पण हुनुपर्ने बताए।

‘अहंकारी नबन्नुस्। अहंकारीको पछि नलाग्नुस्। बेइमानको पछि नलाग्नुस्। कसैले बचनको पालना गर्दैन भने त्यस्तालाई आदर्श नठान्नुस्। कर्तव्यनिष्ठ बन्नुहोस्,’ उनले भने, ‘घमण्डले मानिसलाई सक्दो रहेछ। घमण्ड र म नै सर्वेसर्वा हो, अरू कोही पनि छैन भनेर अरूलाई मानहानी गर्ने प्रेरणा प्राप्त नगर्नुस्,’ उनले भने, ‘हामीले स्वस्थ वायु लिने हो, शुद्ध अक्सिजन लिने हो। कार्वनडाइअक्साइडले मानिसको ज्यान जान सक्छ होइन। प्रणवायु शुद्ध अक्सिजन लिनुस्। त्यो कुरा राम्रो विचारले दिन्छ।’