लकडाउन कडा :उल्लंघन गर्नेलाई एक महिना कैद र जरिवाना हुन सक्ने

२ वैशाख, काठमाण्डौ । कोरोनाको कहरले विश्व नै लकडाउनमा रहेको छ । नेपालको राजधानी काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित भेटिएपछि प्रहरीले लकडाउनमा थप कडाइ गर्ने भएको छ । काठमाण्डौंका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब बल समेत प्रयोग गर्न सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जनाएका छन् । उनका अनुसार हामीले झन् कडा बनाउँदै गएका छौं, यदि अटेर गर्ने र नटेर्नेहरूलाई अब बल समेत प्रयोग गरिने छ । साथै, त्यस्तालाई जरिवाना तिराउनेदेखि एक महिनासम्म थुन्न सकिने समेत बताए उनले ।
कोही तरकारी किन्न, कोही सुगरको बिरामी हिँड्न आएको, मर्निङ वाक, इभिनिङ वाक भन्छन्,’ जे जति बहाना बनाए पनि अहिलेको अवस्थामा घरभित्रै सुरक्षित हुनु राम्रो उनको सुझाव छ ।
यसअघि लखरलखर हिँड्नेलाई प्रहरी सम्झाइबुझाइ गरेर घर पठाउने वा केही घण्टा नियन्त्रणमा लिने गरेको थियो । अब त्यसो हुनेवाला छैन । त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि कडाइ गर्न थालेको एसएसपी भीम ढकालले जानकारी दिएका छन् । साथै टाफिक प्रहरीले पनि त्यसको निगरानी गर्ने छ ।
सरकारले लकडाउनको अवधि लम्ब्याएर बैशाख १५ गते सम्म पुर्याएको पनि छ ।