बाबुरामको टुईट : तलबभत्ता घोषणा गरेका नेताहरुको विलासी रहनसहन खर्च कसरी चल्छ ?

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्ष्यक्ष डा. बाबुराम भट्टराईले, तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मात्रै सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्ने क्रममा कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए ।
आज मंगलबार पूर्वप्रधानमन्त्री भट्टराईले तलबभत्ता पूरै त्याग्ने घोषणालाई ‘राम्रो’ भनेका छन् । सँगसँगै उनले ट्वीटरमा प्रश्न गरेका छन्, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसदरसरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?
प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह(भारवहन सबैले मिलेर गर्नुपर्ने भन्दै आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका थिए ।
जनस्तरबाट पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र निर्वाचन क्षेत्र विकास कोषबाट रकम काटेर कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउनु पर्ने आवाज उठ्दै आएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए । उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको तलब कोरोना उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।