माधव समूह तत्काल सरकारमा नजाने

नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।

प्रचण्डले सोही विषयमा मंगलबारै प्रधानमन्त्री देउवासँग समेत बालुवाटार पुगेर छलफल गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न दुवै नेता सहमत भएका थिए ।

प्रचण्डसँगको भेटमा भने नेता नेपालले साझा कार्यक्रम बनाएर सरकार सञ्चालन र सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने बताए पनि आफू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था नरहेको जवाफ दिएको नेपाल निकट स्रोतले जनाएको छ ।

माधव नेपाल निकट एमाले नेता डा. विजय पौडेलले पनि आफ्नो समूह तत्काल सरकारमा सहभागी हुन सम्भावना नरहेको प्रतिक्रिया दिए । उनले आफ्नो समूहले संसद् जोगाउन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरे पनि अहिले नै सरकारमा जान सक्ने अवस्था नरहेको बताए ।

‘तत्काल सरकारमा जान कि एमालेले सिफारिस गर्नुपर्‍यो कि नयाँ दल बन्नुपर्यो । अहिले त्यो कुनै सम्भावना छैन ।

उनले एमाले एकताका विरुद्ध अध्यक्ष केपी ओलीले बार लगाएको भन्दै नेपाल समूहले नयाँ पार्टी बनाएर जानुपर्ने बाध्यता रहेको सुनाए ।

‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्छौ, राखेकै हौ तर यसरी सधैँ चल्दैन, नयाँ पार्टी बनाएर जानुपर्छ । सर्वोच्च अदालतको फैसलापछि गत असार २९ गते प्रधानमन्त्री देउवाले माओवादीका दुई र आफ्नो पार्टीका दुई जना समेटेर ५ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । साउन ३ गते संसदबाट विश्वासको मत प्राप्त गरेसँगै देउवामाथि मन्त्रिमण्डललाई पूर्णता दिनुपर्ने दबाब बढ्दो छ । माओवादी र काँग्रेसबाट मन्त्रीहरू बनाउन सहज भए पनि एमालेको माधव समूह र जसपा भित्र पार्टी विवाद कायमै रहेकाले उनीहरू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था छैन ।