Breaking News

माधव समूहले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने ओलीले आज बस्ने केन्द्रीय कमिटीबाट २२ जनालाई साधारण सदस्यताबाट निष्कासन गर्ने तयारी

काठमाडौँ । हिजो बसेको एमाले ओली पक्षीय केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार आज २४ घन्टे अल्टिमेटम पुग्दै छ तर एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएको छ ।

ओली पक्षीय ​एमालेको यो निर्णय लगत्तै हिजो सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

‘हामी स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुग्यौ । हामीले पार्टी मानेकै छैनौ, अनि उनीहरूले गरेको निर्णयको जवाफ दिने कुरै भएन । स्पष्टीकरणको कुनै अर्थ पनि छैन । अर्थ हुनलाई एमाले हुनुपर्यो ।
उनले पार्टी विवादपछि कोही एमाले नरहेको भन्दै दुवै पक्षले एकले अर्कोलाई मान्यता नदिएर समूह चलाइरहेको बताए ।

एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था आएको बताए । त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन।

​‘देउवालाई भोट हाल्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने विषयमा छलफल भएको छ’, ओली पक्षीय एक स्थायी समिति सदस्यले भने,‘ह्वीप उल्लङ्घन गर्नेहरूलाई पार्टी अनुशासनको कारबाही अन्तरगत साधारण सदस्यताबाट निष्कासन गरिन्छ ।’

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले फ्लोर क्रस गर्ने २२ जनालाई स्पष्टीकरण पत्र पठाएको भन्दै सम्भव त आज बस्ने केन्द्रीय कमिटी बैठकले उनीहरूमाथि गर्ने कारबाहीबारे निर्णय हुनसक्ने बताए ।