Breaking News

रघुगंगा गलेश्वरको राहुघाटका ३० घरपरिवार बस्ती पहिरोले पुरिने जोखिममा

४ साउन, म्याग्दी । रघुगंगा गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । रघुगंगा गाउँपालिका-३ स्थितगलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो ।

वस्तीमाथिको पाखोमा जथाभावि सडक खनेपछि पहिरो खसेर गलेश्वपारीको ३० घरपरिवार जोखिममा छ । बर्षात हुनेवित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् ।

कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयममा नवन्दा पूरै पाखो खस्न थालेको छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका छन् ।

गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा पहिरो खस्न थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा
छ । बेनीदेखि उत्तरी क्षेत्रको रघुगंगा, अन्नपुर्ण गाउँपालिका र मुस्ताङको सिधा यातायातलाई बगिरहने पहिरोले अवरोध बनाउदै आएको छ।

लेखक : कृष्णबहादुर कार्की