Breaking News

पुस ५ गतेदेखि जेठ ८ गतेसम्मका घटना अशोभनीय घटना थिए

पुनस्थापित संघीय संसदको बैठकमा बोल्ने क्रममा सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुस ५ पछिका सबै परिघटनाहरू ठूलो अपराध भएको बताएका छन् । आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा आफ्नो भनाइ राख्दै अध्यक्ष भट्टराईले पुस ५ पछिका घटनालाई ठूलो अपराधको संज्ञा दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवातदेखि नै असङ्गत क्रियाकलाप गरेको भन्दै पुस ५ गतेपछिका परिघटनाहरू ठूलो अपराध भएको आरोप लगाएका हुन् । डा। भट्टराईले अदालतको फैसलालाई स्वागत गर्दै संविधान बनाउनेले बिर्सेको र बुझ पचाएको कुरा अदालतले सुन्दर ढङ्गले सम्झाइदिएको बताएका हुन् । देश दुर्घटनाको नजिकै पुगेको बेला अदालतले बचाइदिएको भन्दै संसद् बचाउने सन्दर्भमा अदालतको भूमिका अहम् भएको बताएका हुन् ।

बेलाबेलामा संविधानमाथि असहमति राख्दै आएका भट्टराईले संविधान अपूर्ण भए पनि संविधान विगतको सबै संविधानभन्दा अग्रगामी भएको बताएका छन् । पुस ५ गतेदेखि जेठ ८ गतेसम्मका घटना अशोभनीय रहेको भन्दै अध्यादेशबाटै शासन चलाउने कुरा लोकतान्त्रिक अभ्यास हुन नसक्ने बताए ।

सरकार कामचलाउ भएको अवस्थामा पनि महत्त्वपूर्ण संवैधानिक निकायमा पकेटबाट झिकेर व्यक्ति विशेषलाई नियुक्ति दिइएको भन्दै त्यो लोकतन्त्र विपरीतको कार्य भएको आरोप लगाए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सुरुदेखि नै असङ्गत क्रियाकलापमा संलग्न भएको भन्दै नरक जाने बाटो पनि असल नियतले बनाइएको हुने युक्ति प्रयोग गर्दै भस्मासुरको अन्त्य भएको जिकिर गरे ।