बेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट फैसला आयो

एमाले सांसद तथा प्रवक्ता प्रदीप ज्ञवाली

पुनस्थापित प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसद तथा प्रवक्ता प्रदीप ज्ञवालीले बोल्ने क्रममा संविधानको धारा ७६ (५) को अपव्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आरोप लगाएका छन् । अदालतको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई खलबल्याएको तथा निर्दलीयताको अभ्यास लादेको दाबी उनको थियो । माघ १९ को शाही कूको उदाहरण दिँदै उनले भने,‘उ बेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट फैसला आयो ।

नेता ज्ञवालीले इतिहासलाई यसरी सम्झिए :

मलाई इतिहासको स्मरण भइरहेको छ । इतिहास दुईचोटी दोहोरिन्छ ः एक पटक दुखान्तका रूपमा, अर्को पटक प्रहसनका रूपमा । आज प्रधानमन्त्रीको रूपमा भर्खरै विश्वासको मत मागेर यहाँबाट फर्कनु भएका सम्माननीय शेरबहादुर देउवा २०४८ सालपछि बनेको सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । ०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मतदान हुँदा ३६ जना काङ्ग्रेसकै सांसद अनुपस्थित भए र, सरकार ढल्यो । नेपालको संसदीय इतिहासमा दलभित्रको विभाजनले निम्त्याएको पहिलो घटनाको साक्षी उहाँ नै
हुनुहुन्छ ।

०५३ सालमा मनमोहन अधिकारीलाई विस्थापित गरेर उहाँ प्रधानमन्त्री हुनुभएको थियो । उहाँकै पार्टीका दुई जना सांसदे विश्वासको मत दिन अनुपस्थित भएपछि सरकार ढल्यो । उहाँ ५९ सालमा प्रधानमन्त्री हुँदा सङ्कटकाललाई निरन्तरता दिने कि नदिने भनेर संसद्मा छलफल चल्दै थियो, त्यति बेला पार्टीका तर्फबाटै असहयोग हुने देखेपछि उहाँले संसद् विघटन गर्नुभयो र चुनाव घोषणा गर्नु भयो । चुनाव हुन सकेन र यही आधारमा उहाँलाई अक्षम घोषणा गरेर राजाले सत्ता हातमा लिए ।

नेपालको संसदीय इतिहासमा दलहरूको विभाजनले सरकार गिराउने, संसद् कमजोर बनाउने, प्रजातान्त्रिक व्यवस्थाप्रति वितृष्णा गराउने काम गरेको छ । दलीय विभाजनको सिकार भएर पहिले गृहमन्त्री र दुईचोटी प्रधानमन्त्रीका रूपमा बाहिरिनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज ७६ ९५० को सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ । संविधानको अपव्याख्या गरेर जस्केलाबाट निर्दलीयता छिराउने काम भइरहेको छ । म उहाँलाई कसरी शुभकामना
दिऊँ ।

मलाई एउटा याद आयो । २०६१ सालमा हुनसक्छ, शेरबहादुर देउवा राजाबाट नियुक्त हुनुभयो । त्यसभन्दा अघि असोजमा पदमुक्त हुनुभएको थियो । तर त्यस वेला उहाँले आज मैले न्याय पाए भन्नुभयो । उति वेला श्री ५,
अहिले श्रीमान् ५ ।