उपेन्द्र यादवको पक्षबाट बहस सकियो ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने

निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी चलिरहेको बहसमा उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ । महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि एक छिनका लागि ब्रेक भएको छ । ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बताए ।

यादवको पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन् ।

त्यस्तै, महन्थ ठाकुरको पक्षमा जसपाका कार्यकारिणी सदस्य समेत रहेका अधिवक्ता लक्ष्मणलाल कर्णसहित अधिवक्ताहरू सुरेन्द्र महतो, प्रकाश केसी, विजयकान्त न्यौपाने, ईश्वरी भट्टराई, केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्ने बताइएको छ । सकभर दुवै पक्षको बहस आजै सकाउने तयारी छ तर लम्बियो भने भोलि पनि बहस हुने सम्भावना रहेको उनले बताए ।

उपेन्द्र यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनुपर्ने दाबी गरेको छ । उपेन्द्र यादवको कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत बहुमत रहेको दाबी गर्दै विश्वास नलागे हेड काउन्ट गर्न आफूहरूले आग्रह गरेको अधिवक्ता मिथलेस सिंहले बताए । आज बहस सक्यो भने भोलि हेड काउन्ट हुने उनले बताए ।