२८ असार, काठमाडौं । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला गलत भए पनि स्वीकार गर्ने बताएका छन् । नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने नेम्वाङले बताए ।
‘यो फैसला प्रति सहमत हुनसक्ने ठाउँ देखिंदैन । तर यति हुँदाहुँदै पनि कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वोच्च अदालतको यो गलत निर्णयलाई हामी मान्छौं’, नेम्वाङले भने । उनले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम निरन्तर संघर्षमा जाने पनि बताए ।
अदालतको फैसलाले गम्भीर प्रश्न उठ्ने स्थिति आएको नेम्वाङले बताए । संविधान, संवैधानिक अभ्यास र संसदीय प्रश्नहरु माथि समेत प्रश्न उठ्ने गरी फैसला आएको उनले बताए ।