एमाले कार्यदलको बैठकमा आज पनि सहमति जुटेन नेताहरु भन्छ भोलि पक्कै सहमति हुन्छ

२६ असार, काठमाडौं । नेकपा एमाले भित्रको विवादलाई समाधान गर्न बनेको कार्यदलले सहमतिका लागि भोलि आइतबारको अर्को भाका राखेको छ । नेताहरुका अनुसार कार्यदल स्तरमा भोलि आइतबारसम्म निष्कर्षमा पुग्न प्रयास हुने बताइएको छ ।

लामो समय अनौपचारिक र केहीदिनदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले हिजो शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए । तर आ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि सहमतिलाई अन्तिम रुप दिन सकेन । कार्यदलका एक सदस्यका अनुसार २ जेठ २०७५ मा फर्किने, एमाले पुनस्र्थापित भएपछि भएका निर्णयहरु फिर्ता लिने लगायतमा सहमति जुटेको छ । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा मौन बस्न पनि अध्यक्ष केपी शर्मा ओली पक्ष तयार देखिएको छ ।

यसअघि ओली पक्षले एमालेका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिँदै आएको थियो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले १८ असारमा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर असार २२ गते साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर नेपाल पक्ष त्यसमा सहमत छैन ।

शनिबारको बैठकमा सहभागी नभएका कार्यदल सदस्य एवं नेपाल पक्षका नेता रघुजी पन्तले पनि विचाराधीन मुद्दामा बोल्न नहुने आफ्नो मत भएको बताएका थिए ।

अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सुवास नेम्वाङजीले पहिलेबाटै भन्दै आउनुभएको छ, अदालतको विषयमा केही बोल्नु हुँदैन । कार्यदलमा मैले भन्ने गरेको छु, ‘तपाईंले कानूनको विद्यार्थी भएकाले अदालतमा विचाराधीन मुद्दामा केही पनि बोल्नु मिल्दैन भन्नुहुन्थ्यो । त्यसैले यो पनि अदालतमा विचाराधीन मुद्दा छ, केही नबोल्नु राम्रो हुन्छ ।’

कार्यदलका एक सदस्यका अनुसार अध्यक्ष ओली पक्षका नेताहरु त्यसमा सहमत देखिएका छन् । ‘हामी संसद पुनर्स्थापना हुनुपर्छ भनेर अदालत गएका हौं । यसबारे अदालतले आफ्नो निर्णय देला’ कार्यदलमा रहेका नेपाल पक्षका एक नेता भन्छन्, ‘पार्टीको आन्तरिक विषयमा सहमति गर्दा अदालतमा विचाराधीन मुद्दाबारे मौन बसौं भन्दा उहाँहरुले हुन्न भन्नुभएको छैन ।’

कार्यदलमा भोलि सहमति हुनसक्छ

सदस्यहरुका अनुसार अहिलेसम्म भएका छलफलहरुलाई भोलिसम्म अन्तिम रुप दिने प्रयास हुनेछ । सहमति जुटेका कतिपय विषयको व्याख्यालगायत टुंग्याएपछि भोलि कार्यदल स्तरमा सहमति हुनसक्ने छलफलमा सहभागी नेताहरु बताउँछन् ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ओली पक्षका नेता सुवास नेम्वाङ र नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि भोलि सहमति हुने दाबी गरेका छन् ।

सुवास नेम्वाङ : हामीले साह्रै मेहनतका साथ काम टुंग्याए बराबर छ । भोलि विहान ८ बजे तपाईहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ । यसो हिसाब गर्नुस् त, झण्डै तीन वर्ष भयो होला । तीन वर्षको विवाद आज कति दिन भयो होला हामी बसेको ।

गोकर्ण विष्ट : हामी केही दिनदेखि पार्टी एकताका लागि औपचारिक, अनौपचारिक ढंगले लागिरहेका छौं । पार्टी एकताका समस्याहरु के थिए । ती समस्याहरुको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा एकले अर्काको मनोविज्ञान र समस्या बुझ्दै छलफल गर्‍यौं । र, लगभग एउटा निष्कर्षमा आइपुगेका छौं । अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं । अब हामीसँग छलफलका धेरै विषय बाँकी छैनन् । लगभग हामीले समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं । यद्यपि आजकै दिनमा हामीले सुखद समाचार घोषणा गर्न सकिरहेका छैनौं । तर म तपाईहरुमार्फत यहि सन्देश दिन चाहन्छु, भोलिको दिन आम पार्टी पंत्तिले प्रतिक्षा गरेर बसेको पार्टी एकताको सन्देश सुन्न पाउने छौं । एक हदसम्म औपचारिकता दिने, केही मिलाउने काम मात्र बाँकी छ । अरु हिसाबले हामी लगभग निष्कर्षमा पुग्यौं । तर पावर शेयरिङबारे छलफल हुन बाँकी छ ।