कोपा अमेरिकाको तेस्रो स्थानमा कोलम्बिया

ब्राजिलमा जारी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ । आज बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो भएको हो।

खेलमा अग्रता भने पेरूले लिएको थियो। खेलको ४५औँ मिनेटमा योशिमर योतुनले गोल गरी पेरुलाई सुरूआती अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरू हुनेवित्तिकै ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल फर्काए।

खेलको ६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए । तर खेलको ८२ औँ मिनेटमा पेरूका जियानलुका लापाडुलाले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए।

९० मिनेटपछि ६ मिनेट थप गरिएको थियो। थपिएको चौथो अर्थात ९४औँ मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरी कोलम्बियालाई जित दिलाए।