सर्वोच्च अदालतमा पुगेको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा पुगेको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताएका छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई कसैले पनि प्रभावित पार्न नहुने नेता नेपालको भनाइ छ ।
एमाले विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा छलफल गरिरहेका बेला बरिष्ठ नेता नेपालले ‘हस्ताक्षर फिर्ता गर्ने सर्तमा सहमति हुन सक्दैन । कुनै पनि हालतमा हस्ताक्षर फिर्ता हुँदैन ।

रातोपाटीसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले अदालतलाई प्रभावित पार्न नहुनेमा समेत जोड दिएका छन् । ‘असंवैधानिक कदमविरुद्ध मुद्दा अदालतमा पुगेको छ । अदालतलाई कसैले पनि प्रभावित पार्ने काम गर्नुहुँदैन । मैले यी दुईवटा कुरा स्पष्टरुपमा भन्दै आएको छु, हस्ताक्षर फिर्ता हुँदैन, अदालतलाई प्रभावित पार्न पाइँदैन ।’

नेता नेपालले १० सदस्यीय कार्यदलले गरेको छलफलबारे सोधिएको प्रश्नमा आफूलाई केही पनि जानकारी नआएको बताए । साथै केपी ओलीसँग तपाईको छलफल हुन लागेको हो भन्ने प्रश्नमा पनि उनले कुनै खबर नआएको बताए ।
शुक्रबार सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक भएको र शनिबार अपरान्ह बस्ने बैठकले सहमतिको टुंगो लगाउने एमाले नेता प्रदीप कुमार ज्ञवालीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते राति संसदले आफूलाई काम गर्न नदिएको भन्दै प्रतिनिधि सभा विघटन गराएका थिए । साथै राष्ट्रपतिले शेरबहादुर देउवाको पक्षमा गरिएको प्रधानमन्त्रीको दाबीलाई खारेज गरिदिएकी थिइन् ।
त्यसविरुद्ध एमालेको माधव नेपाल समूहसहित विपक्षी गठबन्धनका १४६ सांसदको हस्ताक्षरसहित प्रतिनिधि सभा पुर्नस्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सकिएर फैसला आउने अन्तिम चरणमा छ । यहीबेला एमाले अध्यक्ष ओली पक्षले पार्टी एकताका लागि नेपाल पक्षले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान अघि सार्दै आएको छ ।

यसअघि बुधबार प्रधानमन्त्री समेत रहेका ओलीसँग मेरियट होटलमा भएको भेटवार्तामा पनि वरिष्ठ नेता नेपालले हस्ताक्षर फिर्ता नलिने अडान राखेका थिए ।

‘अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा आउने फैसला स्वीकार गर्नुपर्छ, हस्ताक्षर फिर्ता लिन सकिन्न’, नेता नेपालले ओलीसँग भनेका थिए ।