लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर

२६ असार, काठमाडौं । कोपा अमेरिकाको ४७औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भोलि बिहान भिड्दैछन् ।

ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ ।

फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुँदैछ ।

३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । ६ पटकको बालोन डे ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जितेका थिए ।

उता ब्राजिलका डिफेण्डर मार्क्वन्होसले मेस्सीलाई आफ्नो उद्देश्यमा पुग्नबाट रोक्न प्रयास गर्ने बताएका छन् ।

२०२१ को कोपा अमेरिका अर्जेन्टिनाको लागि मेस्सीको १०औं मुख्य प्रतियोगिता हो । उनी छैटौं पटक कोपा अमेरिका खेलिरहेका छन् भने चार पटक विश्वकप खेलिसकेका छन् ।

विश्वकपमा मेस्सीले कुल १९ खेल खेल्दा १२ खेल जितेका छन भने ४ खेल हारेका छन् । उनले ४ विश्वकपमा ६ गोल गरेका छन् । यस्तै कोपामा उनले ३३ खेल खेल्दा २० खेल जितेका छन् भने ३ खेल मात्र हारेका छन् । जसमा उनले १३ गोल गरेका छन् ।

फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारिसकेको छ । यस पटक अर्जेन्टिनालाई सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर छ
अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक उसको अगाडि साविक विजेता ब्राजिल छ ।