सहमहामन्त्री प्रकाशशरण महतले उपसभापति वा महामन्त्रीमध्ये एक पदमा उठ्ने घोषणा

नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन भादौमा आउंदै त्यसका लागि पार्टीभित्र नेताहरुबीच तिब्रा प्रतिस्पर्धा देखिएको छ । सहमहामन्त्री प्रकाशशरण महतले उपसभापति वा महामन्त्रीमध्ये एक पदमा उठ्ने बताएका छन्।

सभापतिमा फेरि पनि शेरबहादुर देउवा नै उठ्ने तयारी गरेकोले आफू उपसभापति वा महामन्त्रीमध्ये एक पदमा उठ्ने महतको भनाइ छ।

‘म अहिले सहमहामन्त्री छु। सहमहामन्त्री भन्दा माथि महामन्त्री वा उपसभापति पदमा लड्छु,’ अहिले कसैले पनि औपचारिक रूपमा कुन पदमा लड्ने नभनेकोले मैले पनि औपचारिक रूपमा घोषणा नगरेको हुँ।

उनले महाधिवेशन आउन अझै समय रहेकोले उत्ताउलो भएर अहिले नै औपचारिक घोषणा गर्न नपर्ने पनि बताए। ‘हामी संस्कार अगाल्छौं, उत्ताउलो भएर राजनीति गरेनौँ। यस विषयमा छलफल भएको छ। तर औपचारिक रूपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले नगरेको हो। तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री वा उपसभापतिमा लड्छु। यसको औपचारिक घोषणा केही समयपछि गर्छु।

महतले देउवाको विकल्प खोज्ने बेला नभएको पनि दाबी गरेका छन्। उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा देउवालाई सघाउनुपर्ने उनले बताए।

‘शेरबहादुरजीको उम्मेदवारी रहिरहँदा विमलेन्द्रजीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै। प्रभाव पर्दैन भन्ने छैन,’ उनले भने, ‘यस विषयमा धेरै साथीहरूले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुरजीले एकपटक नेतृत्व गर्छु भन्नुभएकोले समझदारी गरेर जाँदा राम्रो हुन्छ भन्नुभएको छ।