विश्व फुटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनलमा भिडन्त

२३ असार, काठमाडौं । सबैको अपेक्षा अनुसार नै विश्व फुटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनल भिड्ने भएका छन् ।

बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै ब्राजिलसँग फाइनल भिडन्त तय गरेको हो ।

गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै ३ पेनाल्टी रोकेपछि अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हरायो ।

त्यसअघि साविक विजेता तथा घरेलु टोली ब्राजिलले गत संस्करणको उपविजेता पेरुलाई हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।

अब आइतबार बिहान माराकान स्टेडियममा ब्राजिल र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ ।

२०२० मै तय भएको कोपा कोरोना महामारीले गर्दा एक वर्षपछि भएको थियो । शुरुमा अर्जेन्टिना र कोलम्बिया नै यस संस्करणको आयोजक थिए तर कोलम्बियामा प्रदर्शन र अर्जेन्टिनामा कोरोना महामारीको प्रभावका कारण ब्राजिल नयाँ आयोजक बन्यो ।

दक्षिण अमेरिकाका १० टिम सहभागी प्रतियोगितामा ब्राजिल र अर्जेन्टिना अपराजित बन्दै फाइनल पुगेका हुन् ।

अर्जेन्टिनाले १४ पटक कोपाको उपाधि जितिसकेको छ र यस पटक च्याम्पियन बने सर्वाधिक १५ पटक जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्नेछ ।

सर्वाधिक ५ पटक फिफा विश्वकप जितेको ब्राजिलले भने ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक उपाधि जित्नेमा तेस्रो स्थानमा छ ।

अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक कोपा जितेको थियो । त्यसयता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २००४ यता अर्जेन्टिनाले चार पटक कोपाको फाइनल र एक पटक विश्वकपको फाइनल खेलिसकेको छ । ब्राजिलले भने २१औं शताब्दीमै ३ पटक कोपा अमेरिकाको उपाधि जितिसकेको छ । सन् २००४ र २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएर ब्राजिलले उपाधि जितेको थियो । अर्जेन्टिना त्यसपछि पनि दुई पटक फाइनलमा पराजित भयो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ

२०११, २०१५ र २०१६ मा राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिलले २०१९ मा घरेलु मैदानमै उपाधि जितेको थियो ।

ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनल आमन सामने हुने भएको छ ।

वर्तमान विश्वकप फुटबलका स्टार खेलाडी लिओनल मेस्सीको कप्तानीमा अर्जेन्टिना यस पटक उपाधि जित्दै झण्डै तीन दशकको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । ब्राजिल भने घरेलु मैदानमै फेरि च्याम्पियन बन्न चाहन्छ ।

सेमिफाइनलमा पेरुलाई हराएपछि ब्राजिलियन स्टार नेयमारले पनि फाइनलमा अर्जेन्टिनासँग खेल्न चाहेको प्रतिक्रिया दिएका थिए ।

मेस्सी र नेयमारले स्पानिस क्लब बार्सिलोनामा केही वर्ष सँगै बिताएका थिए । अब कोपामा भने यी दुई खेलाडी एक अर्काविरुद्ध मैदान उत्रनेछन् । मेस्सीले पनि आफूहरु साथी भएकोले नेयमारले म पनि त्यहाँ होस् भन्ने चाहेको बताएका छन् ।

मेस्सीलाई फाइनलमा हार्नुको पीडा राम्रोसँग थाहा छ । सन् २००७, २०१५ र २०१६ मा फाइनल हार्दा मेस्सी अर्जेन्टिनी टिमको सदस्य थिए । पछिल्लो दुई फाइनल मेस्सी नै कप्तान थिए ।

उता नेयमारले २०१९ को कोपा चोटका कारण गुमाएका थिए । त्यसैले दुवै खेलाडी कोपाको ट्रफी चुम्नका लागि आतुर छन् ।

कोपाको फाइनल इतिहास हेर्दा अर्जेन्टिना हाबी देखिन्छ । ब्राजिल र अर्जेन्टिनाले कोपाको फाइनलमा अहिलेसम्म १० पटक भिड्दा ८ पटक अर्जेन्टिनाले जितेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ ।

अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ । जसमा ८ पटक अर्जेन्टिनासँग नै पराजित भयो भने  दुई पटक उरुग्वे र एक पटक पाराग्वेसँग पराजित भएको छ ।

एउटा रमाइलो संयोग के छ भने ब्राजिलले अहिलेसम्म घरेलु मैदानमा खेलेको सबै कोपाको उपाधि जितेको छ । सन् १९१९, १९२५, १९२९, १९३७ र २०१९ मा आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो । के यसपटक अर्जेन्टिनाले त्यो इतिहास तोड्ला ?

२०१९ को कोपा को सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना १९ खेलसमम्म अपराजित छ । ब्राजिललाई अन्तिम पटक हराउने टिम पनि अर्जेन्टिना नै हो । २०१९ को नोभेम्बरमा अर्जेन्टिनासँग हारेयता ब्राजिल १३ खेलसम्म अपराजित छ ।

फाइनलसम्म आउँदा दुई टोलीको प्रदर्शन

यस पटक सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । जसमा समूहमा ‘ए’ मा अर्जेन्टिनासहित उरुग्वे, पाराग्वे, चिली र बोलिभया थिए । समूह ‘बी’ मा ब्राजिलसहित पेरु, कोलम्बिया, इक्वेडर र भेनेजुएला थिए ।

बोलिभिया र भेनेजुएला समूह चरणबाटै बाहिरिए । यस्तै सेमिफाइनलमा समूह ‘ए’ बाट अर्जेन्टिना मात्र पुग्दा समूह ‘बी’बाट ब्राजिल, पेरु र कोलम्बिया पुगेका थिए ।

फाइनलमा भने दुवै समूहमा एक/एक टिम छन् । अर्जेन्टिना समूह ‘ए’ को विजेता र ब्राजिल समूह ‘बी’ को विजेता बन्दै फाइनल पुगेका छन् ।

अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले प्रेरणादायी प्रदर्शन गरेका छन् । मेस्सीले सर्वाधिक ४ गोल गरेका छन् । साथै उनले ५ गोलका लागि सहयोगसमेत गरेका छन् । अर्जेन्टिनाले खेलेको ६ खेलमध्ये ४ खेलमा मेस्सी म्यान अफ दि म्याच बनेका छन् ।

यस पटक मेस्सी गोल्डेन बल र गोल्डेन बुट दुवैको दाबेदारीमा अघि छन् । अर्जेन्टिनाकै लाउटारो मार्टिनेजले ३ गोल गरेका छन् । ब्राजिलका नेयमार र लुका पाक्वेटा तथा अर्जेन्टिनाका अलेजान्द्रो गोमेजले पनि २-२ गोल गरेका छन् ।

यस्तै अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । समूह चरणमा उनले ३ खेल खेल्दा २ क्लिनसिट र नकआउट चरणमा २ खेल खेल्दा १ क्लिनसिट राखेका छन् । समग्रमा ५ खेल खेल्दा उनले ३ खेलमा गोल खाएका छैनन् । अर्जेन्टिनाले समूह चरणमा बोलिभियाविरुद्ध फ्रांन्को अर्मानीलाई खेलाएको थियो ।

उता ब्राजिलले भने आफ्ना तीन गोलकिपरलाई नै खेलाएको छ । भेनेजुएलाविदरुद्ध पहिलो खेल एलिसन बेकरले खेल्दै क्लिनसिट राखे । त्यसपछि पेरुविरुदध एडरसनले खेले र उनले पनि क्लिनसिट राखे । तेस्रो खेलमा कोलम्बियाविरुद्ध वेभरटन खेल्दा ब्राजिलले एक गोल खाएको थियो । चौथो खेलमा फेरि एलसिन बेकर नै खेल । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । क्वाटरफाइनलमा चिली र रसेमिफाइनलमा पेरुविरुद्ध एडरसन खेले र उनले दुवै खेलमा क्लिनसिट राखे । एडरसनले ३ खेल खेल्दा तीनवटैमा क्लिनसिट राखेका छन् ।

अर्जेन्टिनाको नतिजा

विरुद्ध चिली १-१ को बराबरी

विरुद्ध उरुग्वे १-० को जित

विरुद्ध पाराग्वे १-० को जित

विरुद्ध बोलिभिया ४-१ को जित

क्वाटरफाइनल

विरुद्ध इक्वेडर ३-० ले विजयी

सेमिफाइनल

विरुद्ध कोलम्बिया ३-२ ले विजयी (पेनाल्टी सुटआउट)

ब्राजिलको नतिजा

विरुद्ध भेनेजुएला ३-० ले विजी

विरुद्ध पेरु ४-० ले विजयी

विरुद्ध कोलम्बिया २-१ ले विजयी

विद्ध इक्वेडर १-१ को बराबरी

क्वाटरफाइनल

विरुद्ध चिली १-० ले विजयी

सेमिफाइनल

विरुद्ध पेरु १-० ले विजयी

अनलाइनखबरबाट