युरोकप २०२० को पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदै

२२ असार, काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२स्४५ बजे सुरु हुनेछ ।

यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटलीले बदला लिएको थियो ।

समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३(० ले हराएको इटलीले वेल्सलाई १(० ले पराजित गरेको थियो । अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २(१ ले हराएको इटलीले क्वाटरफाइनलमा विश्व नम्बर एक बेल्जियमलाई २(१ ले नै पराजित गरेको थियो ।

उता स्पेनले राम्रो सुरुआत गर्न नसके पनि पछिल्ला खेलहरुमा गोलको वर्षा गर्दै आएको छ । समूहको पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले त्यसपछि पोल्याण्डसँग १(१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५(० ले पराजित गरेको स्पेनले अन्तिम १६ को ८ गोल थ्रिलर खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५(३ ले पराजित गरेको थियो ।

क्वाटरफाइनलमा सपेनले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

इटली अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३२ खेलमा अपराजत छ । यस्तै पछिल्लो १३ खेलमा इटलीमा अपराजित छ । अष्ट्रिलया र बेल्जियमविरुद्ध गोल बेहोरेको इटलीले त्यसअघि लगातार ११ खेलमा गोल खाएको थिएन ।

जर्मनीसँगै सर्वाधिक ३ पटक युरोकप जितेको स्पेनले यसपटक उपाधि जित्दै सबैभन्दा सफल टिम बन्न चाहन्छ । इटलीले भने सन् १९६८ मा एक पटक मात्र उपाधि जितेको छ ।

पछिल्लो पटक सन् २०१२ मा फाइनल खेलेको इटली स्पेनसँग नै पराजित भएको थियो । स्पेनले २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो । त्यसअघि स्पेनले सन् १९६४ मा पहिलो पटक उपाधि जितेको थियो ।

अहिलेसम्म चार पटक सेमिफाइनल पुग्दा स्पेनले चारै पटक जित हात पारेको छ । जसमा तीन पटक उपाधि नै जित्दा सन् १९८४ मा भने उपविजेता बनेको थियो ।

उता इटली पनि अहिलेसम्म चार पटक सेमिफाइनल खेल्दा ३ पटक विजयी भएको थियो भने एक पटक पराजित भएको थियो ।

सन् २०१६ मा फ्रान्समा भएको युरोमा इटलीले स्पेनलाई क्वाटरफाइनलमा पराजित गरेको थियो । स्पेन त्यसको बदला लिने लक्ष्यमा पनि हुनेछ ।

पहिलो पटक युरोपको ११ देशमा आयोजना भएको युरोकपको अब बाँकी तीन खेल वेम्वली मैदानमा हुनेछ । जहाँ करीब ६० हजार दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ ।