पेनाल्टी सुटआउटमा ३-१ ले स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश

१९ असार काठमाडौं । युरोकप २०२० को सेमिफाइनलमा स्पेन प्रवेश गरेको छ । हिजो राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो ।

स्पेनका गोलकिपर उनाई सिमोनले स्वीजरल्याण्डका दुई पेनाल्टी प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न असफल हुँदा बाहिरिनुपर्‍यो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटको खेल १(१ को बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

त्यसअघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । स्पेनका जोर्डी अल्वाको प्रहार स्वीट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै गोलमा परिणत भएको थियो । तर ६८ औं मिनेटमा स्वीट्जरल्याण्डका जेद्रान शाकिरीले बराबरी गोल गरेका थिए ।

खेलको ७८ औं मिनेटमा स्वीट्जरल्यान्ड १० खेलाडीमा समेटियो । रेमो फ्रिउलर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेका काणा उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

पेनाल्टी सुटआउटमा स्पेनका कप्तान सर्जियो बुस्केटले पहिलो प्रहार नै पोष्टमा लागको थियो । तर त्यसपछि डानिएल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओजाबायलले गोल गरे । रोड्रीको प्रहार स्वीस गोलकिपर यान सोमेरले रोके ।

स्वीट्जरल्याण्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका मारियो ग्राभानोभिचले मात्र गोल गरे । फाबियन सार र मानुएल अकान्जीको प्रहार स्पेनी गोलकिपर सिमोनले बचाए भने रुबेन भर्गासको प्रहार क्रसबारमाथिबाट बाहिरियो ।

अन्तिम १६ मा विश्वकप विजेता फ्रान्सलाई पेनाल्टीसुटआउटमा पराजित गरेको स्वीट्जरल्याण्ड यस पटक भने सफल हुन सकेन ।

जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन स्पेन भने ९ वर्षपछि सेमिफाइनलमा पुगेको छ । २००८ र २०१२ मा लगातार उपाधि जितेको स्पेन २०१६ मा भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो । स्पेनले अब सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।