बेल्जियमलाई २-१ ले पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश

१९ असार काठमाडौं । यूरोकप २०२० को क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल फर्काए । इटलीले अब फाइनल पुग्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गरेका थिए । तर भिएआरले अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन । तर इटलीले धेरै समय कुर्नुपरेन । ३१औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाए ।

४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटायो । इटलीका जिओभानी डि लरेन्जोले जेरेमी डुलाई धकेलेर लडाएपछि बेल्जियमले पेनाल्टी पायो । जसमा रोमेलु लुकाकुले सहजै गोल गरे ।

दोस्रो हाफमा बेल्जियमले बराबरी गोल फर्काउने खोजेपनि सफल हुन सकेन । नियमित कप्तान इडेन हजार्ड घाइते भएकाले इटलीविरुद्ध खेलेनन् ।