महामन्त्री शशांक निवासमा रामचन्द्र पौडेल समूहको बैठक शुरु

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक महाराजगञ्जमा महामन्त्री डा. शशांक कोइरालाको निवास शुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै गुटगत छलफलले तीव्रता बढीरहेको छ ।

बैठकमा नेता पौडेल र महामन्त्री कोइरालासहित नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा।.मीनेन्द्र रिजाल, डा. शेखर कोइरालालगायत सहभागी छन् ।

संस्थापनइतर समूहमा नेतृत्वका आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । संस्थापन पक्षका उपसभापति विमलेन्द्र निधिले संस्थापनइतर समूहका महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री सिंहबीच नेतृत्वका लागि छलफललाई निरन्तरता दिएपछि वरिष्ठ नेता पौडेल असन्तुष्ट छन् ।

आजको बैठकमा निधि, कोइराला र सिंहबीचको तीन चरणको लन्च मिटिङका बारेमा पनि छलफल हुने बताइएको छ । तीनैजना नेतृत्वका आकांक्षी हुन् ।

तीन नेताबीचको संवादप्रति असन्तुष्ट पौडेलले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहसँग असन्तुष्टि जनाइएको बुझिएको छ । त्यस्तै उपसभापति निधिसँग पनि नेतृत्वका लागि नभई महाधिवेशन सफल बनाउन सक्रिय हुन पौडेलले सुझाव दिएका छन् ।