क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी ४९.६ डिग्री तापक्रम

एजेन्सी

उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो।

बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो।

गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० जनाले ज्यान गुमाइसकेको भ्यानकुभर प्रहरीले जनाएको छ। मृत्यु हुनेहरू प्रायस् बिरामी वा वृद्ध-वृद्धा छन्।

त्यस्तै, संयुक्त राज्य अमेरिकाको उत्तर-पश्चिमी क्षेत्रमा पनि गर्मी अत्याधिक बढेको छ। त्यहाँ पनि मानिसहरूले ज्यान गुमाएका छन्।

क्यानडा र अमेरिकाको पश्चिमी भागमा अत्याधिक गर्मी उच्च-दबाब प्रेसर सहितको तातो हावाका कारण बढेको विज्ञहरूले बताएका छन्। क्यालिफोर्नियाबाट आर्टिक क्षेत्रहरूमा जाँदै गरेको तातो हावाका कारण गर्मी अत्याधिक बढेको हो।

गत आइतबार अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थिएन।

अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ताको अनुभव गर्नुपर्दा परिवारहरू तथा समुदायले विनाशकारी परिणाम भोग्न परेको ब्रिटिश कोलम्बिया प्रिमियर जोन होर्गनले बताए।

गर्मीकै कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भ्यानकुभरमा मात्रै गर्मीकै कारण शुक्रबारयता ६५ जनाले ज्यान गुमाएका छन्।

म प्रहरी अधिकारी भएको १५ वर्ष भयो र अहिलेसम्म छोटो समयमा यत्रो संख्यामा एक्कासी मानिसको मृत्यु भएको कहिल्यै अनुभव गरेको थिइनँ, अधिकारी स्टिभ एडिसनले भने।

शहरहरूमा थप प्रहरीहरू परिचालन गरिएका छन् भने प्रहरीको हेल्पलाइन नम्बरहरूमा निरन्तर फोन आइरहेका छन्।

स्थानीय मेघन फाड्रिचले बाहिर जान असम्भवजस्तै भएको बताएका छन्।

यो सहन नसक्ने खालको छ, उनले भनिन्, हामी सकेसम्म भित्रै बस्ने प्रयास गरिरहेका छौं। गर्मीमा बस्ने हाम्रो बानी त छ र यो सुख्खा गर्मी हो, तर ३० डिग्री तापक्रमभन्दा ४७ डिग्री धेरै भिन्न छ।