जारी युरो २०२० को अन्तिम १६ बाट समुह एफ का चारै टिम बाहिरिए

१६ असार, काठमाडौं । युरो२०२० सुरु हुनुअघि समूह एफको खुब चर्चा थियो । साविक विजेतासहित तीन पूर्व विजेता रहेको यस समूह ‘ग्रुप अफ डेथ’को रुपमा चर्चित थियो ।

नहोस् पनि किन २०१६ को विजेता पोर्चुगल विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी यसै समूहमा थिए । अर्को टिम हंगेरी थियो ।
यस समूहबाट तीनवटै पूर्व विजेता समूह चरण पार गर्दै अन्तिम १६ मा समेत पुगे ।

हंगेरी भने समूह चरणबाटै आउट भयो ।

युरोको १६औं संस्करणमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा १६ टिमले नकआउट चरणमा प्रवेश पाउँथे । त्यसैले ६ वटा समूहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुगे ।

समूह एफबाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेताको रुपमा नकआउटमा पुगेका थिए । पोर्चुगल समूहमा तेस्रो भए पनि उत्कृष्ट तेस्रो भित्र पर्न सफल हुदा नकआउट चरणमा पुगेको थियो ।

तर तीन पूर्व विजेता पनि अन्तिम १६ बाट अघि बढ्न सकेनन् । मंगलबार राति  भएको खेलमा जर्मनी इंग्ल्याण्डसँग २-० ले पारजित भएपछि यस समूहका कुनै टोली युरो २०२० मा बाँकी रहेनन ।

साविक विजेता पोर्चुगल बेल्जियमसँग १-० ले पारजित हुँदै बाहिरियो । यस्तै विश्वविजेता तथा साविक उपविजेता फ्रान्स स्विट्जरल्याण्डसँग पेनाल्टीसुटआउटमा ५-४ ले पराजित भयो ।

उपाधि दाबेदार मानिएको तीनवटै पूर्व विजेता आउट भएपछि युरो २०२० रोमाञ्चक बन्दैछ ।