निर्वाचन आयोगमा नेताहरुको पालैपालो

एमाले र माओवादीका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।
माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेका हुन् ।

माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाह आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका हुन् । उनीहरु आयोगबाट निस्के लगत्तै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मा लगायतको टोली पनि पनि निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका छन् ।

‘स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेको छ । त्यो पत्र हामीले आयोगमा बुझाएका छौँ तर आयोगले दल त्याग गरेको सुचना प्रकाशित गरेन । सोही विषयमा कुराकानी गर्न आयोग गएका हौ’, आयोग पुगेका माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

आयोगले सुचना जारी नगरेसम्म पद खाली हुदैन । पोखरेलले माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १७,१८ जना रहेको पोखरेलले जानकारी दिए ।