सर्जियो रामोसले स्पेनिस क्लब रियल म्याड्रिड १६ वर्ष पछि आंशु झर्दै छाडे

सर्जियो रामोसको १६ वर्षको सफल करिअरपछि अन्ततः सर्जियो रामोसले स्पेनिस महारथी क्लब रियल म्याड्रिड छाडे। रियलका फ्यानले साँच्चै यी डिफेन्डरलाई निकै नै ुमिसु गर्नेछन्।

बिहीबार उनको विदाईका लागि रियलले पत्रकार सम्मेलनको आयोजना गर्‍यो। जहाँ रामोसले निकै भावुक मन्तव्य दिए ।

विदाई मन्तव्य दिने क्रममा उनले आँशु झार्दै भने म यहाँ एकदिन फर्केर आउनेछु, म यसमा पक्का छु। रियल म्याड्रिडलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। रियल म्याड्रिडलाई सधैं मेरो मुटुमा राख्नेछु।

रियल म्याड्रिड छाड्ने यो दिन जीवनकै कठिन दिन भएको उनले बताए।

सन् २००५ मा सेभियाबाट रियल म्याड्रिड आबद्ध भएपछि उनले रियलबाट २२ उपाधि जिते। जसमा पाँच ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि समावेश छन्।

३५ वर्षीय रामोस र रियलबीचको सम्झौता यहि जुनबाट सकिँदैछ। उनको कप्तानीमा रियलले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जित्दै कीर्तिमान बनाएको थियो।

रियल म्याड्रिडबाट १६ वर्ष खेल्दा उनले ६७१ खेल खेले। जसमा उनले १०१ गोल गरे। सेन्टर ब्याकको रुपमा सय गोल पूरा गर्दै उनले रेकर्ड बनाए।

उनले रियल म्याड्रिडसँगको एउटा अद्भुत यात्रा समाप्त भएको बताए।

रियलमा बिताएको समय आफ्नो जीवनकै उत्कृष्ट भएको उनले बताए। अब नयाँ यात्रा सुरु गर्न आफू उत्साहित भएको पनि उनले बताए।