जनतालाई कुहिएको चामल दिएर बहादुरी देखाउने ?

२९ चैत, बुटवल । कोरोना भाइरसका कारण लकडाउन भए पछि विपन्न परिवार र ज्यालादारी गरेर खाने परिवारलाई खान मस्यया भएपछि सरकारले राहत स्वरुप उपलब्ध गराउने राहतमा केही मनपरी, कही गोटाला, कही चारु हालेजस्तो, कही राम्रो तरिकाले, कही वितराणै नगरेको घटना आइरहेको बेला प्रदेशका ५ को नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरूप हिजो शुक्रबारदेखि वितरण गरेको चामल कुहिएको र कम तौलको भेटिएपछि छानबिन गर्न समिति गठन भएको छ । राहतका नाममा गरिबलाई कुहिएको चामल दिएको भन्दै स्थानीयले उक्त चामल नगरपालिका अगाडि लगेर फ्याँकेपछि चौतर्फी आलोचना बढेको थियो ।
जिल्ला प्रशासनले उक्त खाद्यान्न वितरणमा रोकसमेत लगाएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा घरेलु तथा साना उद्योगका प्रमुख, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि छन् । ‘समितिले चामल र सोयाबिनको स्याम्पल (नमुना) लिएर गुणस्तर मापन गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइसकेको छ’ समिति संयोजक गौतमले भने–‘कुहिएको र गुणस्तरहीनको गुनासो आएपछि बाँड्न पनि रोक लगाइसक्यौँ ।
१८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्यान्न सामग्री खरिद गरेको थियो । शुक्रबार बिहान वडा नं. ६ र ११ मा वितरण गरिएको खाद्यान्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्न रोक लगाएको हो ।
पांच जनासम्मको परिवारलाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, आधा केजी सोयाविन र दुई वटा सावुन वितरण गर्ने गरी नगरपालिकाले राहत सामग्री प्याकिङ गरेको थियो । दुई जनासम्मको परिवारलाई पांच केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत बाँड्न पठाइएको थियो ।
तौलका क्रममा १० केजी चामलमा एक केजी र ५ केजीमा आधा केजी चामल कम देखिएको उपप्रमुख रम्भा कुँवरले स्वीकार गरिन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको थियो । पाँच जनासम्मको परिवारलाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, आधा केजी सोयाबिन र दुईवटा साबुन वितरण गर्नेगरी नगरपालिकाले राहत सामग्री प्याकिङ गरेको थियो ।
दुई जनासम्मको परिवारलाई पाँच केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत बाँड्न पठाइएको थियो । गुणस्तरहीन चामल र सोयाबिन बाँडेपछि विपन्नहरुले आफूहरुलाई पशुले पनि खान नसक्ने अन्न दिएको भन्दै नगरपालिकासँग आक्रोश पोखेका छन् ।
रामग्राम नगरपालिका–११ पाडाटिकरका ओमप्रकाश मुसहरले नगरपालिकाले दिएको चामल गन्हाएर खानै नसकिने खालको भएकाले नगरपालिकाको कार्यालयमै लगेर फ्याँकिदिएको बताए । ‘सोना मनुसली भनेर दिएको चामल मोटा रहेछ, त्यो पनि कुहिएर गन्हाउने’–मुसहरले भने–‘राहतका नाममा गरिबलाई हेप्ने काम भयो ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक एवं रामग्राम १५ का वडा अध्यक्ष धनपत यादवले आफू र समितिसँग कुनै छलफल र समन्वय नगरी राहत सामग्री खरिद गरेर बाँडिएको बताए । वडा नं. ११ का अध्यक्ष बमबहादुर थारुले वडाले नभई नगरपालिकाले नै प्याकिङ गरेर राहत पठाएको बताए ।
नगरपालिकाले दुई सय ५० क्विन्टल चामल परासीस्थित राजेश राइस मिलबाट खरिद गरेको हो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रतिकेजी ४० रुपैयांमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए । चामल गुणस्तरहीन रहेको जानकारी आएकाले गुणस्तर मापन गरेर राहत वितरण गरिने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘स्थानीय व्यापारीलाई राम्रो चामल प्याक गरेर पठाउन भनेका थियौं, सुरुमा राम्रै चामल देखाएका थिए, पठाउँदा नराम्रो पठाएछन्’ नगरप्रमुख गुप्ताले भने, ‘दोषीलाई कारबाही गरिने बताएका छन् ।
चामल उपलब्ध गराएका व्यवसायी पटवारी बनियांले पुरानो धानको चामल रहेकोले कमसल जस्तो देखिए पनि त्यस्तो नभएको बताए । ‘चित्त नबुझे सबै चामल फिर्ता गरेर अर्को चामल दिन्छु, जानी जानी नराम्रो चामल दिएको छैन ।
दोषीलाई कडा कारबाही होस् ः उपप्रमुख
राहत स्वरुप वितरण गरिएको चामल कुहिएको र कम तौलको भएको पाइएपछि नगरपालिकाकी उपप्रमुख रम्भा कुवरले उक्त घटनाले दुःखित बनाएको भन्दै क्षमा याचना गरेकी छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै उपप्रमुख कुवरले खरिद गरिएको खाद्यान्नको गुणस्तरका बारेमा विषयगत समितिको बैठकमा प्रश्न उठे पनि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेको स्पष्ट पारेकी छन् ।
उनले यसबारे नगरपालिकाले स्पष्ट पार्नुपर्ने माग गर्दै जिल्ला प्रशासनले छानबिन समिति गठन गरिसकेकाले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने उनने आफ्नो वक्तव्यमा बताएकी छिन् ।