राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन

मुख्यमन्त्री शंकर पोखरेल

८ जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् ।

प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला पोखरेलले आफू अहिलेसम्म बहुमतमै रहेको दावी गरेका हुन् ।

जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफूसँग राजनीतिक रुपमा बहुमत रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

‘म संसदभित्रको राजनीतिक गणितमा विश्वास गर्छु, जबसम्म राजनीतिकरुपमा सत्तापक्षमा बहुमत रहन्छ म मुख्यमन्त्री रहन्छु’ उनले भने, ‘म अराजनीतिक तरिकामा विश्वास गर्दिन, राजनीतिक रुपमा बहुमत गुम्यो भने स्वाभाविक रुपमा एक मिनेट पनि सत्तामा रहनु हुँदैन भन्ने लाग्छ मलाई ।’

८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको दल नेकपा एमालेका ३८ सांसद छन् । गत वैशाख १९ गते उनी नेकपा एमालेसंग एकल बहुमत रहेको दावी गर्दै संविधानको १६८९१० अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर अहिले एमालेको एकल बहुमत नभएको र जसपाका ४ जना सरकारमा सहभागी भएकाले सरकार संविधानको धारा १६८९२० मा परिवर्तन भएकाले यो धारा अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने विपक्षी दलहरुको माग छ ।

विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गत वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको थियो । तर सोही दिन बिहान पोखरेलले राजीनामा दिए र विशेष अधिवेशन अन्त्य गराएका थिए ।