नेपाल भेटेरिनरी एशोसिएसनले सुरु गर्यो हटलाइन सेवा

नेपाल भेटेरिनरी एशोसिएसनले हटलाइन सेवा सुरू गरेको छ।

कोभिड–१९ महामारीका बीचमा पशुपन्छीपालक कृषकहरुले भोगेका समस्याहरुलाई समाधान गर्न सो सेवा मंगलबारबाट सुरू गरिएको हो।

निरन्तर रुपमा पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बर मार्फत निरन्तर परामर्शको सुविधा दिन हटलाइन फोन सेवा सुरु गरेको एसोसियसनले बताएको छ।

नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुँच करिब ३० प्रतिशत कृषककोमा मात्र पुगेको परिप्रेक्षमा यस कार्यले सेवा पाउनबाट बञ्चित दुर दराजको कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिने एसोसियनसको विश्वास छ।

टेलीलिमेडिसिन परामर्श सेवाका निम्ति एशोसिएसनले देशभरिबाट करिब  ३०० पशु चिकित्सकहरुको सम्पर्क नम्बर सार्बजनिक गरेको छ। टेलीलिमेडिसिन परामर्श सेवा आवश्यकताका अनुसार भिडियो प्रबिधि मार्फत पनि हुनेछ।

पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थापकीय पक्षसम्बन्धी समस्याको समाधानका लागि आवश्यकता अनुसार ११५९ डायल गरेर निशुल्क  विज्ञको परामर्श लिन सकिनेछ।

यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको संघले बताएको छ।

यसमा नेपाल भेटेरिनरी एशोसिएसनसँग निम्बस कम्पनिले सहकार्य गरेको छ। निम्बस नेपालमा पशुपन्छीको पेलेट दाना उत्पादन गर्ने कम्पनि हो।

सेतोपाटीबाट