सुदूरपश्चिम प्रदेश सरकारलाई कांग्रेसले समर्थन गर्ने एमाले संसदीय दलको बैठक जारी

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिंदैछन् । यस विषयमा निर्णय लिन एमाले संसदीय दलको बैठक बसीरहेको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।

नेपाल पक्ष भट्टलाई विश्वासको मत दिने पक्षमा देखिएको छ । तर नेपाल पक्षका केही सांसद भट्ट सरकार जोगाउन नहुने पक्षमा रहेको बुझिएको छ । एमालेको नेपाल पक्षका मानिएका १८ जना सांसदले साथ नदिए भट्टलाई काँग्रेसले समर्थन गर्नुपर्ने अवस्था छ ।

यता एमाले प्रदेश कमिटीले भट्ट सरकारको विपक्षीमा उभिन ह्वीप जारी गरेको छ । तर यसअघि स्थायी कमिटीले सरकारबाट समर्थन फिर्ता लिन दिएको निर्देशन संसदीय दलले अवज्ञा गरेको थियो ।

नेपाल पक्षका केही सांसदले भट्टलाई विश्वासको मत नदिने परिस्थिति बने नेपाली काँग्रेसले पनि सघाउने सहमति भएको छ । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच उक्त समझदारी बनेको छ ।